22 Nov 2025, Saturday

गणतन्त्र दिवसको शुभकामना

   2024-05-28 01:21:44 | जय राम बि क

गणतन्त्र दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु। महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। बेपत्ता तथा घाइते अपाङ्ग यौद्धाहरु सहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु।

नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ। नेपाली जनताको त्याग र वलिदानबाट स्थापित पहिलो संविधासभाबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएपछि नेपाली जनताले सार्वभौम नागरिकको हैसियत प्राप्त गरेका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै संघीयता, समावेशी-समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन्, यिनै राजनीतिक उपलब्धिका जगमा आज हामीले गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौं। गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूल प्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएको छ। सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको छ। 

राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौं देखिको सपना हो ।  व्यवस्था परिवर्तन भए पनि व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ। प्राप्त राजनीतिक उपलब्धिको भरपूर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा टेकेर समाजवाद निर्माणको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सकिनेछ। गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै गणतन्त्रमा गल्ती गर्ने छूट हुँदैन र गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने तथ्य स्थापित गरेर नै गणतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सकिने छ। 

अतः राजनीतिक परिवर्तनका उपलब्धिलाई जनजनसम्म पुर्याऔं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाऔं। गणतन्त्र दिवस, २०८१ को अवसरमा पुनः हार्दिक शुभकामना

तपाईको प्रतिक्रिया


चर्चामा