सुर्खेत । लुम्बिनी–रारा–मुगु सडक (रुकुम–जाजरकोट खण्ड ५२.८ कि.मि.) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा राय सुझावको लागि सूचना सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सूचना सार्वजनिक गरेको हो ।
सडक विभाग, योजना अनुगमन तथा मूल्यांकन शाखाद्वारा स्तरोन्नती तथा नयाँ निर्माणका लागि प्रस्तावित लुम्बिनी–रारा–मुगु सडक (रुकुम–जाजरकोट खण्ड ५२.८ कि.मि.) आयोजना राय सुझावका लागि मन्त्रालय सार्वजनिक सूचना गरेको हो ।
प्रस्तावित यो आयोजना जाजरकोट जिल्लाको कुसे गाउँपालिकाको वडा नम्बर ५ पाँचकटियाबाट सुरु भई कुशे गाउँपालिका वडा नम्बर ८ बेहुलीढुंगामा टुँगिन्छ ।
आयोजना क्षेत्रका मुख्य वस्तीहरुमा पाँचकटीया, दम्दाला, ढिमे, खुर्पा, जहरगाउँ, समाकोट, नारे, छेडा र रातामाटा रहेका छन् । आयोजनाले विद्यमान माटो सतहको सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ ।
सडकको क्षेत्राधिकार मध्यविन्दुबाट दुवैतिर १५÷१५ मिटर, चौडाई ८.५ मिटर, क्यारिविजेवे ७ मिटर, काध चौडाई दुवैतिर ०.७५ मिटर रहेको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्क शाखाले जनाएको छ ।
मुख्य संरचनाहरूमा पाइप कन्भर्ट ९०० मिटर व्यास भएका १२४ वटा, ६ मिटर स्पान लम्बाइका ८ वटा स्ल्याव कल्भर्ट, पुल २ वटा रहेको र प्रस्तावित आयोजनाका निमित्त ६३.०२ हेक्टर जमिन आवश्यक पर्नेछ जसमध्ये स्थायी रूपमा ५८.७२ हेक्टर (वन क्षेत्र ४०.६८ हेक्टर र निजी १८.०४ हेक्टर) प्रयोग हुने र अस्थायी रूपमा ४.३ हेक्टर जमिन (वन क्षेत्र ३.५ हेक्टर र निजी ०.८ हेक्टर) आवश्यक पर्ने जुन स्वामित्वको आधारमा सरकारी वन क्षेत्र ४४.१८ हेक्टर व्यक्तिगत स्वामित्वको १८.८४ हेक्टर आवश्यक पर्ने भनि प्रतिवेदनमा उल्लेख गरिएको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्क शाखाले जनाएको छ ।
यो आयोजनबाट १५५ घरधुरीका एक हजार दुई जना प्रभावित हुनेछन् । यिनीहरुको पेशाले कृषि, पशुपालन, तरकारी खेती दुध व्यापार जस्ता कार्य यिनीहरुको आयस्रोत रहेको आयोजनाले जनाएको छ ।
आयोजना बनाउनका लागि दुई वर्ष
यो आयोजना बनाउनका लागि करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यो बनाउनका लागि औसत ६ लाख ४३ हजार ३० श्रमशक्तिको आवश्यक पर्ने र जसका लागि २ लाख १२ हजार ६ जना दक्ष जनशक्ति र ४ लाख ३१ हजार २४ अदक्ष श्रमशक्ति आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो आयोजनाबाट महिलाहरुले श्रममा भाग लिन पाउने उल्लेख गरिएको छ ।
कति छ निर्माण लागत
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अनुसार यो आयोजनाको निर्माण लागत ३० करोड ५६ लाख अनुमान गरिएको छ । यस योजनामा आवश्यक कार्यको विवरण, उपकरण, कार्यान्वयनको जिम्मेवारी र अनमुामनत लागत हो । यो आयोजना प्रभाव न्यूनीकरणका लागि खर्च हुने कार्यहरुमा क्षतिपुर्ति बृक्षारोपण, सडक सूरक्षाका लागि बायोइन्जिनियरिङ संरचना निर्माण, पानी, ध्वनी तथा वायुको गुणस्तर परीक्षण, सिचाँइ कुलो, जस्ता संरचनाहरुको निर्माण र पुर्नस्थापना आदी रहेका छन् ।